देउवालाई अर्को वर्ष सत्ता हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली


 

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् ।

भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा शनिबार आयोजित  कार्यक्रममा पालिकाका २०० जनालाई प्रधानमन्त्रीले जग्गाधनी पुर्जा वितरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए ।

उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने जानकारी दिए । प्रधानमन्त्री ओलीले भूमिको अधिकतम उपयोग गर्ने, विशेषगरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएको बताए ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार देश विकासको गतिमा अग्रसर भएकाले निराश नहुन सम्पूर्ण नेपाली जनतामा आह्वान गर्दै मुलुकले गणतान्त्रिक शासन व्यवस्था अङ्गीकार गरेपछि शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा धेरै परिवर्तन भएको बताए ।

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम सो दलका सभापति एवं लोकतान्त्रिक आन्दोलनका आफ्ना सहयात्री शेरबहादुर देउवालाई अर्को वर्ष सत्ता हस्तान्तरण गर्ने बताए । ‘आगामी निर्वाचनसम्म नेपाली कांग्रेससँगको सहकार्य जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छ’, उनले भने ।