काठमाडौँको तीनथानामा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु


काठमाडौं । काठमाडौँको तीनथानामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

आज बिहान करिब पौने चार बजे चन्द्रागिरि–१५ तीनथानास्थित मुख्य सडकमा दुई सवारी साधन ठोक्किँदा मोटरसाइकल चालक चन्द्रागिरि–४ थानकोट निवासी करिब ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक धादिङको खानीखोला घर भएका ३२ वर्षीय विष्णु श्रेष्ठ र स्कुटरको पछाडि सवार धादिङकै धुनिवेशी–९ घर भएका २५ वर्षीय विवेक केसी घाइते भएका छन् ।

उनीहरुको कलंकीस्थित सहिद मेमोरिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा.८५ प ४८२२ नम्बरको ढकाल सवार मोटरसाइकल सुरुमा आफैँ अनियन्त्रित भएर डिभाइडरमा ठोकिएको थियो। त्यसले पछि विपरित दिशातिर जाँदै गरेको बाप्र ०२ ०४२ प ९८२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।