कञ्चनपुरमा जिपको ठक्करबाट एकजनाको मृत्यु


कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजी बजारमा जिपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आएको जिपले मोटरसाइकलमा सवार चन्दलाई मङ्गलबार राति ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गर्थे ।