दोहा । इरानी सेनाले सोमबार कतारस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण थालेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा गराएको हवाई आक्रमणको जवाफस्वरूप यो कारबाही गरिएको इरानी पक्षले जनाएको छ ।
आक्रमणको केन्द्र अल–उदेद एयर बेस नजिकै विस्फोट भएको रिपोर्टहरू आएका छन् । दोहाबाट केही दूरीमा रहेको उक्त बेस अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको अघिल्लो मुख्यालय हो, जहाँ करिब १० हजार अमेरिकी सैनिक तैनाथ छन् । घटनापछि कतारस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै अमेरिकी नागरिकहरूलाई सुरक्षित स्थानमै रहन आग्रह गरेको छ।
सुरक्षा स्थितिलाई ध्यानमा राख्दै कतार सरकारले आकस्मिक उपायस्वरूप आफ्नो आकाशमार्ग बन्द गर्दै सबै उडानहरू अस्थायी रूपमा निलम्बन गरेको छ ।
यसैबीच, इजरायली रक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै इरानका विभिन्न स्थानहरूमा ‘अभूतपूर्व रूपमा शक्तिशाली’ हवाई आक्रमण सञ्चालन गरिएको पुष्टि गरेको छ। इजरायली सेनाले इरानमा लक्षित स्थलहरूको संख्या र दायरा बढाएर व्यापक हमला गरेको जनाएको छ ।
मध्यपूर्व क्षेत्रमा चर्किँदो तनावका बीच यी घटनाहरू भएका हुन्। विश्लेषकहरूका अनुसार यदि हालको स्थिति अझै चर्किंदै गयो भने, यो क्षेत्रीय संघर्ष व्यापक युद्धमा रुपान्तरित हुने खतरा देखिएको छ।

प्रतिक्रिया