वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी युद्धक विमानले आक्रमण गरेको पुष्टि गरेका छन्।
उनले उक्त आक्रमणलाई ‘सफल’ भन्दै अमेरिकी विमानहरू इरानी हवाई क्षेत्रबाट सुरक्षित रूपमा फर्किएको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै फोर्दो, नताञ्ज र इस्फहानस्थित आणविक केन्द्रहरूलाई लक्ष्य बनाई आक्रमण गरिएको जनाएका छन् ।
‘मुख्य केन्द्र फोर्दोमा पूर्ण मात्रामा बम खसालिएको छ,’ ट्रम्पले पोस्टमा उल्लेख गरेका छन् । इरानी अधिकारीहरूले पनि फोर्दोमा आक्रमण भएको स्वीकार गरेका छन् ।
राजधानी तेहरान नजिकैको कोम सहरको छेउमा पहाडभित्र रहेको उक्त आणविक समृद्धि केन्द्रलाई पहिले नै खाली गरिएको जानकारी दिएका छन् ।
यता, राष्ट्रपति ट्रम्पले शनिबार राति १० बजे ह्वाइट हाउसबाट राष्ट्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। अमेरिका र इरानबीचको बढ्दो तनावका बीच आएको यो आक्रमणले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ।

प्रतिक्रिया