‘म झोले हो’ अभियानले एमालेलाई पनि भाजपाको स्थितिमा पुर्याउला त ?


काठमाडौं । सोमबार बिहान नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म झोले हो’ भन्दै सामाजिक संजालमार्फत आफ्नो तस्बिरसहितको पोष्टर सार्वजनिक गरे । पोष्टर सार्वजनिक गर्दै उनले लेखे, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’

ओलीले यो पोष्टर सार्वजनिक गरेपछि नेकपा एमालेका नेताहरुबीच आफ्नो तस्बिर राखेर पोष्टर सामाजिक संजालमा राख्न होडबाजी नै चल्यो । केहीले तस्बिरमात्र सार्वजनिक गरेका छन् भने केहीले तस्बिर राख्दै केही लेखेका पनि छन् ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तस्बिर राख्दै लेखे, ‘म जन्मसिद्ध शासन सत्ताको हकदार बन्ने कुराको विरोधमा छु । म वंश परम्परामा आधारित शासन सत्ताको विरोधमा छु । म अनिर्वाचित शासन सत्ताको विरोधमा छु । संविधानको सर्वोच्चता र कानूनी शासनको दृढ पक्षपोषण मेरो अडान हो । यिनै मान्यता बोक्ने म झोले हो ! अर्थात्–।’

अर्का नेता प्रदीप ज्ञवालीले सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोच ! भन्दै सामाजिक संजालमा स्टाटस लेखे । उनले लेखेका छन्, ‘भनिन्छ–जहाँ तर्क सकिन्छ, त्यहीँबाट गाली–गलौज सुरू हुन्छ । अचेल सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एउटा जमात इमान, निष्ठा र जनसेवाको राजनीति गरिरहेको पार्टी पङ्क्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान नै चलाइरहेको छ । वंशवाद र जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्ने रैति बन्नुमा गर्व गर्ने तर प्रतिष्पर्धात्मक लोकतन्त्रका पक्षधरहरूलाई चाहिँ ‘झोले’ भन्दै खिसिट्युरी गर्ने उनीहरू चाहन्छन्– राजनीतिक कार्यकर्ताहरू, कुनै नेतालाई मन पराउने कलाकारहरू या नागरिकहरू ‘सेल्फ सेन्सर्ड’ बनून् र बोल्न छाडून् । यो दूषित मनशायलाई हुर्किन दिनुहुन्न । सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोच !’

सांसद सूर्य थापा लेख्छन्, ‘दासहरूले त यसो भन्दै आएका छन्, हामीले स्वयं सगौरव भन्छौं ।’

‘म झोले हो’ नभने कारबाहीमा परिने डरले जस्तै गरी अधिकांश नेताले अहिले ‘म झोले हो’ भन्दै सामाजिक संजालमा लेख्न थालेका छन् । एमाले नेताहरुले आफूलाई सगौरव ‘म झोले हो’ भनेपनि उनीहरुमाथि आलोचनाको बाढी लागेको छ ।

नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रिताल व्यंग्य गर्दै लेख्छन्, ‘सुदूर पूर्वबाट झोले, सुदूर पश्चिमबाट बाकसे, मध्यबाट बोरे, ठाउँ ठाउँबाट मासुभाते, आमनेपाली रमिते ।’

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई राष्ट्रको झोले बन्न सुझाव दिएका छन् । शाही सामाजिक संजालमा लेख्छन्, ‘प्रधानमन्त्रीज्यू तपाईं झोले नै हो गिरिबन्धुको , कम्बोडियाको, यतीको, ओम्नीको, भ्यु– टावरको, टेरामाक्सको, भुटानी शरणार्थीको, वाइडबडीको, एनसेलको, पोखरा विमानस्थलको, भैरहवा विमानस्थलको, भिजिट भिसाको । तर प्रधानमन्त्रीज्यू… भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस् ।’

एकजना सामाजिक संजाल प्रयोगकर्ता अनिल मानन्धर व्यंग्य गर्दै लेख्छन्, ‘लाखौ लाख युवालाई विदेशमा बेचेर झोला भरि पैसा छ ! कोशी, बुढीगण्डकी, महाकाली बेचेर झोला भरि पैसा छ ! गिरिबन्धू, ललितानिवास, बाँसबारी बेचेर झोला भरि पैसा छ ! नागरिकता, राहदानी, समानुपातिक सिट बेचेर झोलाभरि पैसा छ ! –म झोले ।’

सन् २०१९ को लोकसभा चुनावको समयमा भारतीय जनता पार्टी (भाजपा) र यसका समर्थकहरूले ‘मैं भी चौकीदार’ अभियान सुरु गरेका थिए । यो अभियान विशेष रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको नेतृत्वमा रहेको सरकारको समर्थनमा केन्द्रित थियो । मोदीले आफ्नो ट्वीटरको प्रोफाइलको नाम नै परिवर्तन गरेर ’चौकीदार नरेन्द्र मोदी’ राखेका थिए । त्यसपछि भाजपाका नेताहरू, कार्यकर्ताहरू र समर्थकहरूले यो ह्यासट्यागलाई व्यापक रूपमा प्रयोग गरेका थिए । २०१९ को लोकसभा चुनावमा भाजपाले ३०३ सिट जितेर ऐतिहासिक जित हात पारेको थियो । ‘म झोले हो’ अभियानले एमालेलाई पनि भाजपाको स्थितिमा पुर्याउला त ?