आलमलाई सफाइ दिने न्यायाधीशमाथि किन यतिधेरै आलोचना ?


काठमाडौं । इँटा भट्टामा हालेर मान्छे जलाएको अभियोगमा जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय सुनाइएका पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गत बुधबार सफाइ दिने फैसला सुनायो । न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिने फैसला सुनाएको हो । २०६४ चैत २७ गते मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको वारदात नै वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, वम विस्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँटा भट्टामा लगेर पोलेको भन्ने ठोस प्रमाण पेश गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनबाट मृतकलाई इँटा भट्टामा पोलिएको दाबी पुष्टि हुन नसकेको भन्ने आधार लिँदै इजलासले उनलाई सफाइ दिने फैसला गरेको छ । अदालतको फैसलापछि अहिले न्यायाधीशमाथि संगीन आरोप लगाएर आलोचना भइरहेको छ । प्रतिपक्षी दलहरुले सत्तापक्षले आलमलाई सफाइ दिएको भन्दै आलोचना गरिरहेका छन् भने सत्तापक्ष एमाले र कांग्रेसका केही नेताले पनि फैसलाको आलोचना गरेका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फैसलालाई कलंकको टीकाको संज्ञा दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ’जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताब आलम लगायतका व्यक्तिहरूलाई सफाइ दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ । कलंकको कालो टीका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर’ न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा ‘निर्दोष’ बन्दै हिँड्ने स्थितिले समाजमा र आमनागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्नेछ ? यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारबाही, रुपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी छ ।’

फैसला गर्ने दुई न्यायाधीशमाथि अनुन्धान गरी कारबाही गर्न न्याय परिषदमा उजुरीसमेत परिसकेको छ । युवराज पौडेलले न्यायाधीशमाथि कारबाही गर्न परिषदमा उजुरी गरेका हुन् । न्याय परिषदले यसबारेमा के गर्छ त्यसका लागि भने केही समय कुर्नैै पर्छ ।

तर संविधानविद् डा. विपीन अधिकारी सफाइका आधारमा कमजोरी भए पुनः सुनुवाइ गर्ने ठाउँ रहेको बताउँछन् । उनी सुनवाइ गर्ने दुबै न्यायाधीश असल तथा सक्षम रहेका बताउँछन् । उनको भनाई छ, ‘मोहम्मद आफताब आलमको केसमा धेरैको चित्त बुझेको छैन । सरकारी एटर्नीहरूले आफ्नो तहकिकात तथा अनुसन्धानमा कहाँ कमी भयो वा सफाइका आधारमा कमजोरी भए अगाडि के गर्न सकिन्छ पुनः हेर्नुपर्ने हुन्छ । तर सुनवाइ गर्ने दुबै न्यायाधीशहरू असल तथा सक्षम मानिन्छन् । मनमा जे भए पनि चश्मदीद साक्षी, दशी प्रमाण तथा प्रष्ट आधारको अभावमा कसैलाई अपराधी ठहर गर्न सकिँदैन । पीडितप्रति कसको श्रद्धा नहोला ? तर जथाभावी आलोचना गरिदिँदा स्वतन्त्र तथा निष्पक्ष रुपमा न्याय गर्नेको मनोबल झर्ने तथा त्यसबाट न्याय प्रणालीलाई पर्ने प्रभावको सबैलाई हेक्का हुनुपर्छ।’