काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्र नेपालको भएकाले जसरी पनि फिर्ता ल्याइने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको भूमि फिर्ता ल्याउनकै लागि मन्त्रिपरिषद बैठकले नयाँनक्सा जारी गर्ने निर्णय गरेको बताएका हुन् ।
उनले भने, ‘२०१८ सालसम्म हामीहरुले तिरो तिर्ने सबै काम हुन्थ्यो तर त्यसपछि जान दिइएन । अब यो मुद्दाबाट हामी पछि हट्नेवाला छैनौं । यस विषय अब ओझेलमा पर्ने छैन पर्न दिइने छैन । यही अठोटका साथ नीति तथा कार्यक्रममा समावेश गरेको हो । यी भूमि प्राप्त गर्न कुटनीतिक तहबाट छलफल गर्नेछौं । तथाकथित राष्ट्रवाद देखाउनका लागि यो निर्णय गरेको होइन । अहिलेको सरकारको तर्फबाट कुनै तमासाका लागि गरिएको होइन । यथार्थमा फिर्ता लिनका लागि गरिएको हो र फिर्ता लिन्छौं । यो कदमबाट सिंगो राष्ट्र खुसी हुनेछ । अब प्रतिक चिन्ह संशोधन गर्न संसदमा प्रस्तुत गरिनेछ । अरु विषयका सम्बन्धमा भोलि छलफल गर्नसक्छौं । भूमिको विषयमा संविधान संशोधनको विषय सदनमा आउनेछ र यो संसदले पास गर्नेछ । हाम्रो तर्फबाट दुविधारहित ढंगले जाने कुरा हुन्छ । म ठान्छु संविधानको अनुसूची तीन नेपालको नक्सा अंकित छ त्यो संसदले पारित गरेका दिन देशमा दीपावली हुनेछ ।’

प्रतिक्रिया