आधुनिक कृषि प्रविधिको प्रयोगले पिपलटारमा तरकारी उत्पादन दोब्बरले वृद्धि


धादिङ।  आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेक गाउँपालिका-७ पिपलटारमा तरकारी उत्पादन दोबरले वृद्धि भएको छ। परम्परागत खेती प्रणालीलाई त्याग्दै किसानले यहाँ वैज्ञानिक विधिको अवलम्बन गरेपछि तरकारी उत्पादनमा दोबरले वृद्धि भएको हो।

विगतमा २ सय किलो भण्टा उत्पादन हुने गरेको एउटै जग्गामा अहिले ४ सय किलोसम्म फल्न थालेको अगुवा कृषक कृष्ण अधिकारीले बताए।

‘भण्टा र भिण्डी लगाउँदा गोडमेल गर्न र टिप्न सजिलो हुन्छ भनेर पहिले हामी पातलो गरी बोटहरू रोप्थ्यौँ। अहिले बिरुवा रोप्ने बेलैमा नापेर लगाउँछौँ। निश्चित दूरीमा धेरै बोटहरू भएपछि उत्पादन पनि धेरै हुने रहेछ’ उनले भने।

खेतबारीमै प्राविधिक ज्ञान पाउन थालेपछि पिपलटारका कृषकहरू उत्पादन बढाउन सफल भएका हुन्। ‘पहिला खेती गर्ने सही तरिका र प्रविधि थाहा थिएन, अहिले प्राविधिकहरू खेतबारीमै आएर तरकारी लगाउने तरिकाहरु सिकाउनुहुन्छ, रोग कीराबारे जानकारी दिनुहुन्छ, उत्पादन पनि बढेको छ’, अधिकारीले विगत र वर्तमान सुनाए।

पिपलटारका किसानहरूले यसअघि तरकारीखेती नगरेका भने होइनन्। परम्परागत तरिकाले विभिन्न जातका तरकारी उत्पादन गरेर जेनतेन जीविकोपार्जन गरिरहेकै थिए। तर, विगत दुई वर्ष अघिदेखि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) ले किसानको खेतबारीमै पुगेर प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि उत्पादनसँगै आम्दानीमा वृद्धि भएको किसानले बताएका छन्।

हाल यहाँका फाँटहरू घिरौँला, बोडी, भिण्डी, चिचिन्डो, लौका, करेला र भण्टा जस्ता मौसमी तथा बेमौसमी तरकारीले भरिभराउ छन्। पिपलटारसहित सिद्दलेक-७ मा करिब ५०० किसानले तरकारीखेती गरिरहेका छन्। अहिले यहाँका एक जना किसानले एकखेप तरकारी टिप्दा एक हजार किलोसम्म संकलन गर्ने गरेका छन्।

खेती गर्ने सही तरिका र विधि थाहा नहुँदा पहिले दुःख बढी र उत्पादन कम हुन्थ्यो, अहिले दुःख कम उत्पादन बढी भइरहेको स्थानीय कृषक सुनिता कोइराल बिसुन्केले बताइन्।

पिपलटारमा उत्पादित तरकारीको संकलन र बजारीकरणलाई व्यवस्थित गर्न खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) र सिद्धलेक गाउँपालिकाको समन्वयमा स्थानीयस्तरमै तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ। गाउँमै संकलन केन्द्र स्थापना भएपछि किसानहरूले उत्पादन गरेको तरकारी बिक्री गर्न सहज भएको छ।

तरकारी व्यवसायमा फैलिएको बिचौलिया प्रथाबाट केही हदसम्म किसानले राहत पाएका छन्। तर, बजारको उतारचढावका कारण उत्पादित तरकारीले अझै उपयुक्त मूल्य पाउन नसकेको किसानहरूको गुनासो छ।

तरकारी उत्पादनमा क्रान्ति नै आए पनि मूल्य निश्चित हुँदा कृषकहरू पूर्ण सन्तुष्ट छैनन्। बिसुन्के भन्छिन्, ‘पहिले परम्परागत तरिकाले बीउ राख्थ्यौँ र पुरानै शैलीले लगाउँथ्यौँ, उत्पादन निकै कम हुन्थ्यो। अहिले प्रविधिले उत्पादन त बढाएको छ तर आम्दानी भने अझै सोचेजस्तो हुन सकेको छैन।’

यहाँका किसान तरकारीखेती मै आश्रित छन्। वडा नम्बर ७ का झण्डै आधा घरपरिवारको प्रमुख आर्थिक स्रोत नै तरकारी व्यवसाय हो। उत्पादनको परिमाण र गुणस्तर सुधारमा सकारात्मक परिवर्तन आएसँगै सरकारले बजारको सुनिश्चित गरेर उचित मूल्य किसानले पाउँदा राहत हुने अगुवा किसान सीता गिरीले बताइन्।