काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै श्रेष्ठले आफूमाथि पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताए ।
उनले भने, ‘यदि आरोप प्रमाणित भयो भने म माननीयज्यूहरुलाई साक्षी राखेर भन्न चाहन्छु झुण्डिएर मर्न तयार छु ।’ सांसद श्रेष्ठलगायतमाथि सांसद अपहरणको आरोप लागेको छ । फरक प्रसङ्गमा सांसद श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रियताको सम्वद्र्धनका सन्दर्भमा ठोस कार्यक्रम आएको भन्दै समर्थन गरे ।
उनले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने सन्दर्भमा सरकारको नीति तथा कार्यक्रमले समेटेको भन्दै खुशी व्यक्त गरे । काग्रेस सांसद प्रकाशमान सिंहले भ्रष्टाचारप्रति शून्य सहनशीलता नारामै सीमित भएको आरोप लगाउँदै अनियमितता गर्नेमाथि सरकारले कारवाही गर्न नसकेको गुनासो गरे । मुलुकको अर्थतन्त्र नकारात्मक दिशामा गएको भन्दै उनले अर्थतन्त्रलाई सही बाटोमा हिँडाउने खालको बजेट ल्याउन सरकारलाई सुझाव दिए ।
त्यस्तै सांसद विनोद चौधरीले कोरोना महामारीको अहिलेको समयमा बाँच्नु र बचाउनु नै सरकारको मुख्य प्रथमिकता हुनुपर्ने बताए । खुलेका उद्योग नै चल्न नसकेको अवस्थामा भोलिको दिनमा नयाँ उद्योग खुल्ने र लाखौं रोजगारी दिने उद्घोष दिवास्वप्न मात्र हुने चौधरीले बताए ।
राजपाका सांसद शरतसंह भण्डारीले नीति तथा कार्यक्रमले कोभिड–१९ को महामारी रोकथाम र यसबाट पर्ने असर न्यूनीकरण गर्न आवश्यक काम गर्न नसक्ने भन्दै महामारीले पार्ने प्रभावका क्षेत्रका बारेमा छलफल गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया