काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्दै जेठ ५ गतेपछि निरन्तरता दिने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले अहिलेसम्मको लकडाउनले कोरोना संक्रमितको संख्यालाई नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको भन्दै यसलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकले प्रदेश र स्थानीय तहमा रहेका क्वारेन्टाइनलाई मापदण्ड अनुसारको बनाउन आवश्यक परे केन्द्रबाट आर्थिक लगायतको सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै लकडाउनलाई थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने र आपूर्ति व्यवस्थालाई अझै सहज बनाउन पहल गर्ने निर्णय पनि गरेको समितिका प्रवक्ता एवं मन्त्रीपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।
बैठकमा सहभागी सबैले लकडाउन बढाउन सुझाव दिएका थिए । अहिलेको अवस्थामा लकडाउनले नागरिकको जीवन रक्षा गर्न निकै मद्दत पुगेको बैठकले ठहर गरेको छ । सरकारले पछिल्लो समय थप गरेको लकडाउनको अवधी जेठ ५ गते सकिदैछ ।

प्रतिक्रिया