बेलबारी (मोरङ) । काठमाडौँ लिग बिजेता चित्लाङ फुटबल क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै सलहेस फुटबल क्लब सिरहा मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा जितसँगै क्लबको फाइनल खेलको यात्रा पक्का भएको छ । शनिबार हुने खेलमा यस क्लबले झापा–११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बेलबारी ११ को लक्ष्मी खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा अग्रता भने चित्लाङ फुटबल क्लबले चौथो मिनेटमा गरेको थियो । चित्लाङका समन धिमालले सलहेशका चार खेलाडीलाई बिट गर्दै निकालेको पासलाई हेनरीले गोल गर्दै अग्रता दिलाएका थिए । चित्लाङको अग्रता मध्यान्तरसम्म टिक्न सकेन ।
सलहेश क्लबको जितका लागि अजयी मार्टिनले ह्याट्रिक पूरा गरे । थप दुई गोल आदित्य शाक्यको नाममा रह्यो । अजयी मार्टिन खेलको ६८औँ, ८६औँ र दोस्रो हाफपछिको अतिरिक्त समयमा गोल गरेर गोल्डकपमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने । शाक्यले टिमका लागि पहिलो हाफको अतिरिक्त समयमा र ७८औँ मिनेटमा गोल गरेका थिए ।
मध्यान्तर अघिको अतिरिक्त समयमा चित्लाङविरुद्ध शाक्यले १ गोल गरेपछि सलहेश खेल फर्किएको थियो । मध्यान्तरपछि एकपक्षीय खेल खेलेको सहलेशले चित्लाङलाई दबाबमा राखेको थियो । आज दुवै टिमले चार/चार जना बिदेशी खेलाडी मैदानमा उतारेका थिए ।
आजको खेलमा ह्याट्रिक गर्ने सलहेश फुटबल क्लबका अजयी मार्टिन म्यान अफ द म्याच घोषित भए । उनलाई कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेन्द्रसिंह हाङगामले नगद पाँच हजारसहित म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।
शनिबार हुने फाइनल खेलमा सलहेशले झापा ११ फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । बेलबारी गोल्डकपका बिजेताले अढाई किलो चाँदीमा दुई तोला सुनजडित ट्रफीसहित नगद आठ लाख नगद र उपविजेताले चार लाख नगद र ट्रफि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया