संसदीय समितिले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरुको अवस्थाकाबारेमा सरकारसंग जानकारी लिने


काठमाडौं । लकडाउनका कारण वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुको अवस्थाका बारेमा संसदीय समितिले सरकारसंग जानकारी लिने भएको छ । आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल बाहिर रहेका जागिर गुमाएका र अफ्ठ्यारोमा परेकाहरुको अवस्थाका बारेमा श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसंग छलफल गर्ने निर्णय गरेको हो ।

२३ गते परराष्ट्रमन्त्री र श्रममन्त्रीसँग छलफल गर्ने निर्णय गरेको समिति सभापति विमल श्रीवास्तवले जानकारी दिए । त्यस्तै कारोनापछिको लकडाउनबाट उद्योग क्षेत्रमा परेको असरका बारेमा पनि समितिले जानकारी लिने निर्णय गरेको छ । त्यसका लागि २४ गते अर्थमन्त्री र उद्योगमन्त्रीसँग समेत जानकारी लिने सभापति श्रीवास्तवले जानकारी दिए ।

बैठकमा सांसदहरुले लकडाउनपछि सबैभन्दा ठूलो समस्या उद्योग र त्यसमा काम गर्ने मजदुरहरुलाई परेको भन्दै आगामी वर्षको बजेटले यसलाई सम्बोधन गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै उनीहरुले कृषि क्षेत्र, साना उद्योग लगाएतका क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।