सनथ जयसूर्या श्रीलङ्काको पूर्णकालीन प्रमुख प्रशिक्षकमा नियुक्त


 

कोलम्बो । सनथ जयसूर्यालाई  श्रीलङ्का क्रिकेटको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । उनले टि–२० विश्वकपबाट श्रीलङ्काको तुरुन्त बहिर्गमनपछि राजीनामा दिएका क्रिस सिल्भरवुडको स्थान लिनेछन् ।

५५ वर्षीय जयसूर्या जुनदेखि अन्तरिम प्रशिक्षकको रूपमा कार्यरत थिए र हालैको सफलताहरूपछि सन् २०२६ मार्चसम्मका लागि उनी पूर्णकालीन प्रशिक्षकका रूपमा नियुक्त भएका हुन् । उनका यी सफलतामा इङ्ग्ल्यान्ड टेस्ट म्याच जित र घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध २–० को टेस्ट शृङ्खला जित समावेश छन् ।

जयसूर्याको नेतृत्वमा श्रीलङ्काले २७ वर्षमा पहिलो पटक भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलासमेत जितेको थियो ।

श्रीलङ्काका पूर्वकप्तान जयसूर्याले आफ्नो नियुक्ति साकार भएको बताए । “मलाई थाहा छ, यो चुनौतीपूर्ण काम हो तर म चुनौती लिन र टोलीसँग अघि बढ्न चाहन्छु”, उनले कोलम्बोमा पत्रकारहरूसँग भने, “मेरो खुशी व्यक्त गर्न मसँग शब्दहरू छैनन् ।”

उनका लागि तत्कालको चुनौती भनेको आगामी सातादेखि सुरु हुने वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय र तीन टि–२० खेलका लागि आफ्ना खेलाडीहरूलाई तयार पार्नु रहेको छ ।

“खेलाडीहरूलाई प्रशिक्षकसँग धेरै भरोसा र आत्मविश्वासको आवश्यकता पर्नेछ”, जयसूर्याले भने, “उनीहरूले जुनसुकै बेला मसँग सम्पर्क गर्न सक्नेछन् र मसँग कुनै पनि विषयमा छलफल गर्न सक्नेछन् ।”

उनले खेलाडीहरूले उनीहरूकै मातृभाषामा कुरा गर्न सक्ने भएकाले आफू विदेशी प्रशिक्षकहरूभन्दा फाइदामा रहेको बताए ।

उनलाई सर्वकालीन महान एकदिवसीय अन्तर्राष्ट्रिय ब्याट्सम्यानहरूमध्ये एकका रूपमा हेरिन्छ र श्रीलङ्काको सन् १९९६ को विश्वकप विजयमा उनको महत्त्वपूर्ण भूमिका थियो ।

श्रीलङ्का क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डि सिल्भाले केही विदेशी प्रशिक्षकहरूलाई छोटो सूचीमा राखिए पनि जयसूर्यालाई रोज्ने निर्णय गरेको बताए ।

सनथलाई दिइएको पारिश्रमिकको प्याकेज विदेशी प्रशिक्षकलाई दिइने प्याकेजसँग तुलना गर्न योग्य रहेको उनले बताए । यद्यपि उनले कति पारिश्रमिक दिइएको भन्नेबारे विवरण दिएनन् ।

जयसूर्याले खेलको तीन ढाँचामा श्रीलङ्काका लागि पाँच सय ८६ पटक प्रतिनिधित्व गर्दै ४२ शतक र चार सय ४० विकेट लिनुभएको छ । सन् २०११ मा उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।