काठमाडौं । पाल्पा क्षेत्र नम्बर एकबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद दलबहादुर रानाले आफ्नो क्षेत्रबाट बामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् । शनिबार बसेको पार्टी सचिवालय बैठकमा पार्टी उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको थियो ।
तर रानाले सामाजिक संजाल फेसबुकमार्फत पाल्पा क्षेत्र नम्बर एकबाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूठो, भ्रमपूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्र भएको बताएका छन् ।
रानाले लेखेका छन्, ‘केही समयदेखि हाम्रो पार्टी भित्र देखापरेको आन्तरिक बिबादलाई आजको सचिवालयको बैठकमा सम्बन्धित नेताहरुले आत्मालोचना गर्ने,२५ गते स्थायी समितिको बैठक बस्ने,३ जना अध्यक्ष राख्ने बिषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रबक्ता कमरेडबाट जानकारी पाउँदा सम्पूर्ण नेता कार्यकर्ता मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएका छौं । तर बैठकमा र सम्बन्धित कसैसंग पनि छलफल र चर्चा नै नभएको बिषय “बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको “भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु।’


प्रतिक्रिया