काठमाडौं । सहकारी ठगीको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि लागेको आरोपमा छानबिन गर्न आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उपसभापति गुरुङले श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानबिन गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘संसदीय छानबिनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ । कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु ।’
उनले श्रीमान् या श्रीमती जो कुनै काण्डमा संलग्न भए दोष अर्कोले बोक्न नमिल्ने बताए । उनले भने, ‘श्रीमान् या श्रीमती जो कुनै काण्डमा संलग्न भए दोष अर्कोले बोक्न मिल्छ कि मिल्दैन ? भूतपूर्व श्रीमान् या श्रीमतीलाई जोड्न मिल्छ कि मिल्दैन ? विवाह गर्नु अपराध हो ? मिल्न नसक्नु अपराध हो ?’
उनले रास्वपाका सांसदले नक्कली सम्बन्ध विच्छेद गरेको भन्दै गरेको टिप्पणीप्रति आपत्ति जनाए । सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले गुरुङले नक्कली सम्बन्ध विच्छेद गरेको आरोप लगाएका थिए ।
गुरुङले भने, ‘एकजना माननीयजीले नक्कली सम्बन्ध विच्छेद भएको बताउनुभएको रहेछ । जसले नक्कली कुरा गर्छ अरुलाई पनि त्यस्तै देख्छ । १० वर्षे बच्चा हुर्काउनुको पीडा म आफैँसँग छ । संसदीय छानबिनका लागि म तयार छु ।’
सम्बन्धबिच्छेदलाई नक्कली प्रमाणित गर्न पनि उनले चुनौती दिए । अहिले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन आउने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले विषयान्तर गर्न मात्र आफ्नो विषय उठाएको गुरुङले बताए ।
गुरुङले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने बताए ।

प्रतिक्रिया