संविधान भित्रको राजसंस्था आवश्यक छ भनेर अवाज उठाउनु जरुरी भैसकेको छः डा. लोहनी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकमा अब राजसंस्था आवश्यक रहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत अध्यक्ष लोहनीले संविधानको मर्म विपरित सरकारले पठाएको अध्यादेश परामर्श नगरी जारी गरेर कच्चा काम गरी संस्थाको गरिमा घटाएकाले अब राजसंस्था नै आवश्य भएको बताएका हुन् ।

उनले यस घटनाबाट अब पार्टीभन्दा माथि रहेर निष्पक्ष रुपमा काम गर्न राजसंस्था आवश्यक छ भन्ने प्रमाणि भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘१ सम्माननीय राष्ट्रपतिले नेपाल को संविधानको पालना र संरक्षण गर्नु संविधानको दफा ६१ बमोजिम को प्रमुख कर्तब्य हो । यो कर्तब्य नेपाल सरकारले देशको राजनैतिक स्थिरता र संविधानको मर्म बिपरित पठाएको अध्यादेश दुई घण्टा भित्र सहि गरेर पठाएको देख्ता सम्माननीय राष्ट्रपतिबाट पालना भएको देखिएन । बरु एउटा दल र दल भित्र पनि एउटा समूहको स्वार्थ को लागि काम गरेको देखियो ।

२ यसबाट पार्टी भन्दा माथि रहेर निष्पक्ष रुपमा काम गर्न राजसंस्था आवश्यक छ भन्ने राप्रपाको चिन्तन र प्रस्तावको सार्थकता स्पस्ट छ । जुनसुकै दलको भएपनि अब जनताको सर्बोच्चतालाई व्यवहारमा उतार्न राष्ट्र प्रमुख को पदलाई पार्टीको स्वार्थ भन्दा माथि राख्न हाम्रो देशको परिवेशमा संविधान भित्रको राजसंस्था आवश्यक भनेर अवाज उठाउनु जरुरी भैसकेको छ ।’