२० सदस्यीय मन्त्रिपरिषद बनाएको भन्दै मुख्यमन्त्री सिंहलाई पार्टीले सोध्यो स्पष्टीकरण


जनकपुरधाम । जनमत पार्टीले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकिरण सोधेको छ । २० सदस्यीय मन्त्रिपरिषद बनाएको भन्दै जनमतले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।

जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले पार्टीसँग समन्वय नगरी राज्यमन्त्री थपेकाले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको जानकारी दिए ।

मधेस प्रदेशमा १२ मन्त्रालय छन् । सुरुमा मुख्यमन्त्री सिंहसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए। तर पछि पाँच राज्यमन्त्री थपेर २० सदस्यीय मन्त्रिपरिषद बनाइएको थियो । यसको सर्वत्र आलोचना भएको थियो ।

तर पार्टी अध्यक्ष डा. सीके राउतले आफूहरुको कारण नभई कांग्रेस एमालेका कारण मन्त्रिपरिषद जम्बो भएको बताएका थिए ।

उनले भनेका थिए, ‘बुझ्नुपर्छः यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन । गठबन्धन र खासगरी दुई ठूला पार्टीले निर्धारण गरेको हो कि कति मन्त्रालय कसले राख्ने, कति राज्यमन्त्री राख्ने, कुन कुन मन्त्रालय कसले राख्ने यसमा हाम्रो केही चल्दैन किनकि जनमत पार्टीको सीट संख्या मधेश प्रदेशमा पनि निर्णायक होइन, अहिलेकै गठबन्धनमा पनि हामी बिना नै मधेश सरकार बन्छ्र त्यसैले हामीले चाहेर मात्र हुँदैन ।’