राष्ट्रिय पार्टीको जिम्मेवार कार्यकर्ताबाट ममाथि अभद्र व्यवहार भयोः सांसद गौतम


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतममाथि अभद्र व्यवहार भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले आफूमाथि आइतबार काठमाडौँ–२ को कागेश्वरी मनोहरा नगरपालिकामा केही युवाले अभद्र व्यवहार भएको भन्दै शान्ति सुरक्षाको माग गरेकी हुन् ।

सांसद गौतमले आइतबार बाढीपहिरो प्रभावित क्षेत्र कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा मादक पदार्थ सेवन गरेका १०–१५ जना युवाले आफूलाई घेरेर अभद्र व्यवहार गरेको बताइन् ।

उनले भनिन्, ‘म पहिरो हेरेर फर्किरहेको थिएँ । फर्किने क्रममा केही युवा साथीहरु सडकमा चिया पिएर बसिरहेका थिए । कोही गाजा र कोही रक्सीको नशामा लठ्ठ थिए । बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने, हामीले बोलाएको ठाउँमा नआउने भनेर ममाथि दुर्व्यवहार भयो । एकैस्वरमा फोहोरी शब्द प्रयोग गरेर गाली गरे ।’

उनले आफूलाई त्यसरी गाली नगर्न भनेर अनुरोध गर्दा धम्क्यााएको बताइन् । उनले भनिन्, ‘तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्द बोले । चक्रव्यूहजस्तो गरेर जथाभावी बोलेर मलाई घेर्न काम भयो । ती युवा ममाथि दुर्व्यवहार गर्ने शैलीमा त्यहाँ प्रस्तुत भएका थिए । बाटो ढुकेर चौतारीमा कुरेर छोरी मान्छेलाई तर्साउने अभ्यास के अमर्यादित भएन र ? के यो जंगली प्रकारको व्यवहार भएन र ? अब म के आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने ? शान्ति सुरक्षाको व्यवस्था गरियोस् ।’

उनले आफूमाथि दुव्र्यवहार गर्ने मध्येका एक युवा राष्ट्रिय पार्टीको सगठनको जिम्मेवार व्यक्ति भएको बताइन् । उनले घटनामा संलग्नलाई कारबाही गर्न मागसमेत गरेकी छन् ।