मानव बेचबिखनमा शून्य सहनशीलता हुनुपर्छः गृहमन्त्री लेखक


 

ललितपुर । गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताएका छन् ।

मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा गृहमन्त्री  लेखकले प्रहरीको प्रयासले मात्रै यस किसिमको अपराध न्यूनीकरण हुन नसक्ने बताए । उनले स्थानीय तह, विद्यालय तहका विद्यार्थी, शिक्षक समेतले मिलेर सचेतना जगाउने कार्यमा लाग्नुपर्नेमा जोड दिए ।

“मानव बेचबिखन अन्तर्राष्ट्रिय जघन्य अपराधका रुपमा लिइएको छ, यो अपराधको दुष्प्रभाव एउटा भूगोलमा मात्रै सीमित छैन, यसलाई साझा दुस्मनका रूपमा लिएर निरुपण गर्नुपर्छ, यो विश्वव्यापी दुष्चक्र लागुऔषधसरहको अपराधका रूपमा लिएर अनुसन्धानका लागि तीन महिनासम्म राखेर अनुसन्धान गर्ने व्यवस्था हुनुपर्छ,” गृहमन्त्री लेखकले भने, “यसलाई अत्यन्त गम्भीर प्रकृतिको अपराधको श्रेणीमा राखेर अपराधको अनुसन्धानमा देशको कुनै सीमाले प्रभावित नपार्नेगरी काम गर्न सहयोग पुग्नेगरी कानुन निर्माण गर्नुपर्छ ।”

मानव बेचबिखन विरुद्धको अपराधमा काम गर्न मानवीय जनशक्तिको अभावमा मात्रै काम रोकिने अवस्था आउन नदिइने बताउँदै उनले स्रोत र साधनको उपयोग गरेर अपराध न्यूनीकरणमा नेपाल प्रहरीले गरिरहेको काम राम्रो भएको भन्दै प्रशंसा गरे ।

गृहमन्त्री लेखकले स्थानीयस्तरमा विद्यार्थी र शिक्षकमार्फत सार्वजनिक बिदाका दिन मानव बेचबिखनविरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए ।

“विश्वव्यापी तथ्याङ्क हेर्दा महिला बाढीपीडित, त्यसपछि नाबालिका पीडित छन्, गरिबी, अशिक्षा एउटा कारण हो, अर्काे महत्त्वपूर्ण कारण चेनता हो, त्यो स्थानीय पालिका र शिक्षक विद्यार्थीले गर्न सक्नुहुन्छ, मिलेर काम गरौँ भने एक दुई वर्षभित्रै न्यूनीकरण हुनसक्छ, सञ्चारमाध्यम पनि चेतनामूलक सामग्री प्रसारण गरेर सहयोग गरिदिनुपर्छ, सबैले मिलेर लाग्दा सफल हुन्छ”, गृहमन्त्री लेखकले भने ।

गृहसचिव एकनारायण अर्यालले मानव बेचबिखन विश्वको साझा चासो, चुनौती र सरोकारको विषय भएको बताउँदै खोज, प्रमाण र तथ्यका आधार अपराधीलाई मुद्दा चलाउन सूचना उपलब्ध गराएर अनुसन्धानमा सहयोग पुर्याउन सबैमा आग्रह गरे ।

“भिजिट भिसाको बहानामा बेचबिखन हुने समस्या सुनिन्छ, विभिन्न देशमा लगेर बन्धक बनाउने काम पनि भइरहेको छ, यसका विरुद्ध नेपाल प्रहरी र ब्युरो लागिरहेको छ”, उनले भने ।

नायक महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले मानव बेचबिखनविरुद्धको नीति तथा कानुनको व्यवस्था चन्द्रशम्शेरको पालामा नै जारी भएको  जानकारी गराउँदै विभिन्न समयमा परिमार्जित हुँदै विसं २०६४ मा ऐन जारी गरेर मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कामकारबाही र न्यायनिरुपणको काम हुँदै आएको जानकारी गराए ।

“अहिले भएका कानुन अपर्याप्त छ, अनुसन्धान, अभियोजन र निरूपणमा सहयोगी हुनेगरी विश्वव्यापी रुपमा प्रभावकारी हुनेगरी कानुन तर्जुमा गरिनुपर्नेछ, यसका लागि सरकारले ध्यान दिनेछ”, उनले भने ।

महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन तथा ओसारपसार अपराध विश्वव्यापी मानवताविरुद्धको अन्तरदेशीय गम्भीर अपराध भएको धारणा राखे । उनले एउटामात्रै संस्थाको पहलले मात्रै सफल नहुने भन्दै सबैको सहयोग आवश्यक रहेको बताए ।

“मानव बेचबिखनले महिला, बालबालिका र थुप्रै पुरुषलाई श्रम, यौनजस्ता गलत कार्यमा जबर्जस्ती संलग्न गराउँछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउनेजस्ता कार्यलाई मात्र नभएर कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्क झिक्ने, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा पार्ने कार्यलाई मानव बेचबिखन तथा ओसारपसार मानिन्छ”, महानिरीक्षक कुँवरले भने ।