काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्कतिर पठाएको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष नेपालले प्रचण्ड र ओलीबीच ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ सहमति भएकोमा अहिले ओलीले लात्तीले हानेर आफूचाहिँ स्वर्गतिर लागेको बताएका हुन् ।
उनले भने, ‘अघिल्लो दिन स्वर्ग गएपनि नर्क गएपनि सँगसँगै जाने वाचा गरे पनि भोलिपल्ट आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्क पठाए।’
उनले संसदमा विश्वासको मत मागेर प्रधानमन्त्री संसद बैठकबाट बाहिरिएकोमा आपत्ति जनाए । उनले भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई देखिराखेको छैन। उहाँले आफ्नो विश्वासको मत मागिरहनु भएको छ। तर, यो हलबाट उहाँ बेपत्ता हुनुहुन्छ। उहाँले सदनलाई महत्व नदिएको देखिन्छ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई आत्मालोचना गरेर समाजवादी बाटोमा लाग्न आग्रह गरे । उनले दुई दलबीच असल नियतले सहमति नभएको बताए ।
उनले भने,’यदि नियत खराब नभएको भए मध्यरातमा किन सहमति गर्नुपर्यो ? छलछामयुक्त सहमतिले जनतामा निराशायुक्त क्यान्सर निवारण गर्न सक्नुहुन्छ कि हुँदैन ? त्यो समयले बताइहाल्छ ।’

प्रतिक्रिया