काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।
बीपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा आइतबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौँमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कोइरालाले अब जनताले सुशासनको अनुभूति हुने गरि सरकारले काम गर्नुपर्ने बताएका हुन् ।
उनले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकाले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा जोड दिए । कोइरालाले देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको समेत बताए ।
उनले भने, ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’
कोइरालाले आफ्नो पार्टी सरकारमा रहेको र उनीहरूले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्ने बताए । उनले भने, ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई । गलत कामको विरोध गर्नुपर्छ ।’

प्रतिक्रिया