नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नवनियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२)बमोजिम नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिएका थिए ।