प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै


काठमाडौँ ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको मात्र ६३ सिट रहेको छ । कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दलहरू विपक्षमा उभिएकोले प्रचण्डले विश्वासको मत पाउने सम्भावना देखिएको छैन ।

विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने छन् र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने छ । कांग्रेस, एमाले लगायत दलले नयाँ सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी गरेका छन् ।