काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् ।
पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले तत्कालीन नेकपा (एमाले) सँग आफूहरूले विद्रोह गर्नु जायज रहेको विभिन्न समयका घटनाक्रमले समेत पुष्टि गरेको बताए । विद्रोह नगरेको भए मुलुकमा कम्युनिष्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक उभिने योद्धाहरू हराएर जाने अवस्था रहेको उनको कथन छ ।
अध्यक्ष नेपालले वर्तमान सरकारलाई अन्तिम समयसम्म पनि समर्थन कायमै रहने बताए । राष्ट्रिय राजनीतिमा देखापरेका समस्या समाधान गर्न आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए ।
सम्मानित नेता झलनाथ खनालले विगतमा दुई तिहाइ बहुमत नजिक रहेको कम्युनिष्ट सरकार केही नेताको आत्मा केन्द्रित स्वार्थले तहसनहस भएको घटनाबाट शिक्षा लिएर वामपन्थी एकताका साथ अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया