काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले पहिरो पीडितहरूलाई राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सांसद खतिवडाले ओखलढुंगासहित देशभर विपद्बाट पीडित भएकाहरूलाई आवश्यकताअनुसार राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् ।
खतिवडाले बाढीपहिरोका कारण देशभर धनजनको क्षति भएको उल्लेख गर्दै ओखलढुङ्गाका विभिन्न स्थानमा पनि बाढी पहिरोले जनधनको भएको र घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौंमा उपचार भइरहेको सदनलाई जानकारी गराए। खानेपानी, विद्युत् तथा इन्टरनेट सेवा आपूर्ति, सिँचाइलगायत अत्यावश्यक सेवामा बाधा पुगेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद खतिवडाले एक वर्ष हुँदासम्म त्यहाँका पहिरो पीडितहरुका लागि गृहमन्त्रालयअन्तरगतको विपद प्राधिकरणले प्रभावकारी काम नगरेको भन्दै आपत्ति जनाए। एक वर्षअगाडि ताप्लेजुङ र ओखलढुंगामा भएका विपदका फाइलहरू गृहमन्त्रालयमा थन्किएर रहेको उनको भनाइ छ।
खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई विपदमा परेकाहरूको फाइल हेर्न समेत आग्रह गरे । उनले भने, ‘गत वर्ष असार ७ गतेका दिन ओखलढुंगामा एकै गाउँमा बाढीले ४ जनाको मृत्यु भएको थियो। झन्डै २३ घरधुरी क्षति भएका थिए भने १५० बढी घरधुरीहरू विस्तावित भएका थिए। म गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, तपाईं धेरै फाइलहरू हेरिरहनु भएको छ । कमसेकम विपदमा परेका फाइलहरू,जनतालाई राहत दिने फाइलहरू, पुनस्र्थापना दिने फाइलहरू, फाइलबाट जनतालाई राहत हुन्छ भने त्यस्ता फाइलहरू हेर्न गृहमन्त्रीको ध्यान जाओस्।’

प्रतिक्रिया