काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा विगतका गल्ती सच्याउँदै अघि बढ्नुपर्ने आवाज उठ्न थालेको छ । देश दौडाहामा गएर फर्केपछि महामन्त्री डा. मुकुल ढकालले प्रतिवेदन तयार गरी पार्टी सभापति रवि लामिछानेलाई बुझाएका छन् ।
प्रतिवेदनमा ढकालले पार्टी यही अवस्थामा अघि बढेमा साझा पार्टीको हालतमा पुग्ने औंल्याएका छन् । त्यस्तै उनले एमाले र माओवादीको पछि लाग्न नहुने र बरु बालेनसँग सहकार्य गर्न पनि प्रस्ताव गरेका छन् । उनले पार्टी सिद्धिने कि राम्रो बनाएर लैजाने भन्ने विषयमा बोल्ड निर्णय गर्न पनि सुझाव दिएका छन् । ढकालले प्रतिवेदन बुझाएपछि रास्वापाका केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्रीको प्रतिवेदनको समर्थन गरेका छन् ।
उनले भनेका छन्, ‘असाध्यै धेरै साथीका फोन र म्यासेज आइरहेका छन् । यसैले सबैलाई भन्दैछुः फेसबुक जस्ता सामाजिक सञ्जालमा नै खुल्ला बहस गर्ने सोचको पक्षपाती हुँ । हाम्रा महामन्त्रीले पनि सोही बमोजिम गर्नु भएकोमा दुःखी छैन म । रह्यो कुरा पार्टीको हालको अवस्थाको बारेमा उहाँको समीक्षाको, त्यसमा धेरै कुरामा सहमत छु । पार्टीको विधि, चरित्र र बाटोको बारेमा मैले उठाइरहेको विषयमा आइपुग्नु भएकोमा स्वागत छ । सँगसँगै प्रश्न छन्, यो अवस्थामा पुग्यो कसरी ? पार्टीले आफ्नो चरित्र बिर्सिन उहाँ स्वयम् को योगदान कति रह्यो ? संगठन अस्थिर र जथाभावी कसले बनायो ? आफ्नालाई अवसर दिन विधि मिचि मिचि पार्टी कार्यालयमा नै आन्दोलन समेत गर्न उक्सायो कसले ? एउटा सांसद पदका लागि विधि र चरित्रमा अतिक्रमण गर्न शुरू कसले गरायो ? यी र यस्ता धेरै प्रश्नको सही जवाफ अब खोज्न ढिलो गर्न हुन्न ।’
उनले पार्टीले गल्ती सुधारेर पार्टी आफ्नो चरित्रमा फर्किनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘मलाई विश्वास छ – पार्टीले आफ्ना गल्ती सुधार्ने नै हो । पार्टी आफ्नो चरित्रमा फर्किने नै हो । पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर सकिँदैन । अनि, प्रश्न गर्दैमा, आलोचना गर्दैमा रास्वपामा पददेखि घोक्र्याइदैन भन्ने सबूत प्रमाण म छु । नाजायज काम गरेकाहरू मात्र हुन्, विचारसँग डराउने । यदि कोही तपाईं सामु रास्वपा सकियो भनेर खुसी भइरहेको छ भने खुसी हुन पर्दैन भन्नुहोला । पार्टी अब बन्दैछ, आफ्ना गल्तीहरू शुरूदेखि सुधार गरेर ।’

प्रतिक्रिया