‘कुनै किसिमको सम्झौता गर्नुपरेमा हामी सरकारबाट बाहिर आउन तयार छौं’


काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याएका छन् ।

रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा शनिबार आयोजित चियापन समारोहमा उनले पार्टीको जलेश्वर घोषणाका विषयहरु नीतिगत रुपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाव दिएका हुन् ।

गत मङ्सिरमा जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो । सोही अनुसार नीतिगत स्पष्टताका लागि नेता श्रेष्ठले जोड दिएका छन् ।

‘जलेश्वर घोषणापत्रपछि पार्टीका नीतिगत रुपमा स्पष्ट हुनुपर्छ । पार्टी अब लहडका भरमा मात्र चलाएर हुँदैन’, उनले भने,’पार्टीको विचार र नीति स्पष्ट रुपमा पार्टीकै जिम्मेवार सदस्यहरु र आमनागरिकलाई बुझाउनुपर्ने बेला भैसकेको छ ।’

मन्त्री श्रेष्ठले शासकीय बेथितिको अन्त्य गर्न रास्वपा प्रयासरत रहेको समेत बताए । सत्ता साझेदार दलहरुसँगै आफूहरुले पनि समीक्षा र पुनरावलोकन गर्नपर्ने उनको भनाइ थियो ।

‘शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो हुने हामीले अनुभव गरिरहेका छौँ । हामीले सरकारको नेतृत्व गरिरहेका छौँ’, मन्त्री श्रेष्ठले भने, ‘हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौ । वर्तमान राजनीतिक परिस्थतिमा सरकारलाई दिएको समर्थनमा समीक्षा आवश्यक छ । हामीलाई कुनै किसिमको सम्झौता गर्नुपरेमा हाम्रो पार्टी सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ ।’

त्यस अवसरमा उनले  शुक्रबार अर्थ मन्त्रालयबाट खेलाडीहरुले पुरस्कारवापत प्राप्त गर्ने रकम निकास भएको जानकारी समेत दिए ।