गण्डकी । गण्डकी प्रदेशका उर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाको सांसद पद गएको छ । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा सांसदबाट पदमुक्त भएका छन् ।
माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयले देवकोटालाई प्रदेशसभा सदस्यबाट निस्कासन गरी दल त्याग गरेको सूचना शुक्रबार प्रदेशसभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले वाचन गरी सुनाएका हुन् ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको जानकारी सहितको पत्र शुक्रबार नै संसद् सचिवालयमा बुझाएका थिए ।
शुक्रबार प्रदेशसभाको दोस्रो बैठकमा सभामुखले माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ अन्तर्गत दल त्याग गरेको सूचना प्राप्त हुन आएको संसद्मा जानकारी गराएका थिए । माओवादी केन्द्रले मुख्यमन्त्री पाण्डेको पक्षमा विश्वासको मत नदिन ‘ह्वीप’ जारी गरेको थियो ।
उनले ‘ह्वीप’ उल्लंघन गरेपछि माओवादी प्रमुख सचेतक सुशीला सिंखडाले कारबाहीको लागि सिफारिस गरेकी थिइन् । देवकोटाले आफू माओवादी केन्द्रको चुनाव चिह्नबाट लडे पनि नेपाल समाजवादी पार्टीको कार्यकर्ता रहेकोले ‘ह्वीप’ नलाग्ने र माओवादीले कारबाही गर्न नमिल्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया