गृहमन्त्रीले खुट्टा किन कमाएको, छानबिन समिति गठन गर्न मार्ग प्रशस्त गर्नुस्ः सांसद शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहयोग गर्न आग्रह गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले छानबिन समिति गठनमा सहयोग गर्न गृहमन्त्री लामिछानेसमक्ष आग्रह गरेका हुन् ।

उनले प्रतिपक्षमा हुँदा र सत्तापक्षमा हुँदा गृहमन्त्रीको बोली फरक भएको भन्दै आपत्ति जनाए । उनले भने, ‘यसअघि गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । तीन महिनाअघि मात्रै गृहमन्त्रीले खुट्टा कमाउनु भएन भनेको यहीँबाट हो । तर अहिले उहाँहरूको नाम आएको छ किन छानबिन नभएको हो ? सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउन गृहमन्त्रीले सहयोग गर्नुहोस्। जनताले यिनै पुराना दलले काम गरेन भनेर र यिनीहरूको विकल्पका रुपमा भोट दिएका हुन्। खुला गरिदिनुहोस्। दोषी भए कारबाही होला। निर्दोष भए यसै सदनमा गृहमन्त्री भएर आउनुहोला।’

शाहीले सहकारीपीडितहरूको सडकमा बास भएको बताउँदै उनीहरूको बचत फिर्ता हुनुपर्ने माग गरे । उनले सहकारी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी गर्दा गृहमन्त्रीलाई जोगाइएको बताए ।

उनले भने, ‘छिपछिपे सहकारीमा खाता खोलेकी गीता बस्नेतका ज्वाइँले कृष्णसार रेस्टुरेन्टमा लगानी गरेका छन्। यसमा प्रत्यक्ष नजोडिएकी राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी हुन्छ । तर गृहमन्त्रीको नाममा गोरखा मिडिया नेटवर्कमा सहकारीको करोडौँ बचत आउँदा किन कारबाही हुँदैन ? सरकारमा पुग्दा एउटा बोली प्रतिपक्षमा अर्को बोली हुनु हुँदैन ।’

उनले गृहमन्त्री लामिछाने जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउनै पर्ने बताए ।