ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ । बिहीबार साँझ पत्रकार सम्मेलन गरी कांग्रेस महामन्त्री गगन थापाले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको भन्दै यसको जिम्मा सभामुखले लिनुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले विपक्षीलाई पेलेर राष्ट्रपति कार्यालयको पत्र पढ्ने, उपप्रधानमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनेजस्ता कार्य सभामुखबाट भएको भन्दै कांग्रेसले सभामुखको पदीय जिम्मेवारी निर्वाह गर्न घिमिरे चुकेको ठहर गरेको बताए ।

उनले भने, ‘आज सदनमा जे दृश्य देखियो, यो सन्दर्भमा सम्माननीय सभामुखले सदनको सभामुखको जिम्मेवारीबाट जुन भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो निर्वाह गर्न सर्वथा चुक्नु भएको भन्ने हाम्रो ठहर रहेको छ । आफ्नो पुरानो दलगत रुझानहरुबाट पूर्णरुपमा अलग भएर तटस्थ भूमिका निर्वाह गर्ने अभिभावकको रुपमा अपेक्षा गरेका हुन्छौं । त्यो रुपमा लिएका हुन्छौं ।’

उनले आफूहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता नभएको बताए । उनले ओलीले आफ्ना सांसदलाई आफ्ना कार्यकर्ता हो कि भनेर झुक्किएको जस्तो लागेको बताए । उनले भने, ‘एमालेका अध्यक्ष एउटा कुरामा झुक्किनुभयो जस्तो लाग्यो । उहाँले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्यो । एमालेका सांसदलाई उहाँको कुरा हो । हप्काउने, धम्काउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार पनि राख्नुहुन्छ होला । नेपाली कांग्रेस पार्टीका बारेमा पनि नसोच्नुहोला । सांसदका बारेमा पनि नसोच्नुहोला । हामी तपाईंका कार्यकर्ता होइनौँ । तपाईंले हामीलाई अह्राउने होइन ।’

उनले ओलीले सदनमा मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप पनि लगाए । उनले एउटा सहकारी ठग जोगाउने पक्ष र अर्को सहकारी ठगलाई कारबाही गर्ने पक्ष सदनमा स्पष्ट देखिएको बताए ।

उनले भने, ‘यो विषयका सन्दर्भमा दुई पक्ष मात्रै छौं हामी। सहकारी ठगलाई संरक्षण गर्ने पक्षमा उभिने कि कारबाही गर्ने पक्षमा लिएर जाने भन्ने कुरा सदनभित्र भएका राजनीतिक दलले सोच्ने र निर्णय गर्ने कुरा हो।’