काठमाडौं । सभामुख देवराज घिमिरेले दलहरुबीच सहमति नहुँदा संसदीय कामकारबाही प्रभावित हुने देखिएको र त्यसले संवैधानिक संकटको अवस्था सिर्जना गर्नसक्ने बताएका छन् ।
नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नु पूर्व दलका सचेतक तथा प्रमुख सचेतकसँगको छलफलका क्रममा सभामुख घिमिरेले दलहरूबीच सहमति नहुनुले नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताए ।
बैठकमा कांग्रेस सचेतक सुशीला थिङले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्ने संसदीय समितिको निर्णय सुनाउँदै छानबिन समिति नबनेसम्म संसदीय विरोधका कार्यक्रम जारी राख्ने जानकारी गराइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्ने समय दिनुपर्ने माग गरे ।
बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूची र नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे समेत जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
सदनको गतिरोध अन्त्य गर्न निरन्तर प्रयासरत सभामुखले संयुक्त बैठक बस्नु अघि दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका हुन ।

प्रतिक्रिया