अघिल्लो सरकारले जिबी राई भगाएको भन्ने बेतुकको कुरा होः प्रधानमन्त्री


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै संसद्को गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्षनेतासँग म संवादमा नै छु, भोलि बेलुकका अथवा पर्सि बिहानसम्म संसद्को गतिरोध अन्त्य हुन्छ ।”

आइतबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएर आफूले राष्ट्रपतिलाई भेट गरेको जानकारी दिए । उनले भने, “आगामी जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुन्छ । यसको तयारी पूरा भइसकेको छ ।”

सरकारले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसदमा कुनै  समस्या नहुने बताए । उनले भने, “कांग्रेस संसद्को यति धेरै वकालत गर्ने पुरानो पार्टीले राष्ट्रपतिको सम्बोधनमा असहज बनाउँछ भन्ने मलाई विश्वास लाग्दैन ।”

कांग्रेसका नेताहरुसँग संसद् खुलाउने कुरामा गम्भीर रुपमा छलफल भइरहेको उनको भनाइ छ । सहकारी पीडितको समस्या समाधानका सन्दर्भमा उनले भने, “खासगरी गृहमन्त्रीले पनि समिति बनाउनेमा सैद्धान्तिक रुपमा विरोध गर्नुभएको छैन ।”

आज बिहान आफूले कांग्रेसका नेताहरुसँग पनि सदन खुलाउने कुरामा छलफल गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । सामान्यतया सबै समस्याग्रस्त सहकारीका बारेमा अध्ययन गरेर प्रतिवेदन दिने कुरामा सहमति भयो  भने त्यसका लागि कोसिस गर्ने कुरामा सकारात्मक छलफल भएको उनले बताए ।

पत्रकारहरुको प्रश्नमा उनले जिबी राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न नहुने बताए । उनले भने, “जिबी राईलाई स्वदेश ल्याउनुपर्छ भन्नेमा सरकार प्रस्ट छ । राहदानीको  विषयले केही समस्या भएको छ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले वा गृहमन्त्रीले भगाएको भन्ने कुरा बेतुकको कुरा हो ।”शनिबार चितवन पुगेर गृहमन्त्री लामिछानेले जिबी राईलाई अघिल्लो सरकारले भगाएकाले खोज्न समस्या भइरहेको बताएका थिए ।

फरक प्रसङ्गमा राष्ट्रिय सहमतिको वातावरण बनाउन आफूले जहिले पनि कोसिस गरेको उनको भनाइ छ । उनले भने,“अघिल्लो पटक समीकरण ‘ब्रेक’ हुनुमा कांग्रेसलाई राष्ट्रपति दिएर सबै प्रमुख दललाई  प्रमुख सिट बनाऊँभन्दा बिग्रिएको हो । कांग्रेसले मलाई ‘नेगेटिभ’ सोच्नुपर्ने कारण छैन । मैले पनि कांग्रेसलाई ‘नेगेटिभ’ सोच्नुपर्ने छैन ।”