काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् । शनिबार नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको शुभारम्भ गर्दै अध्यक्ष ओलीले नेपालको संसदले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे ।
उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए । उनले राष्ट्रपतिका सल्लाहकार चिरञ्जिीवी नेपालले नेपाली नोटमा नेपालको नयाँ चुच्चे नक्सा छाप्ने भनेर गरेको निर्णयको आलोचना गरेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘नेपालले आफ्नो मुद्रामा देशको नक्सा किन राख्यो भन्दै अर्को देश सोध्न आउँछ । यहाँ राष्ट्रपतिको एउटा सल्लाहकारले नोटमा नक्सा राख्न पाइन्छ र भनेर बोलीमा बोली मिलाएर दाबेदारी गर्छ । किन यस्तो भयो ? अन्तरवार्ता दिँदै हिँडेको छ । कत्रो हिम्मत नेपाललाई हेप्ने कुरामा ? नेपाली जनताले तिरेको करबाट सुविधा लिएर नेपालको विज्ञ सल्लाहकार भएको व्यक्तिले नेपालको राष्ट्रियताविपरित बोल्छ । योभन्दा निन्दनीय कुरा हुन अरु हुनै सक्दैन ।’
राष्ट्रपतिकै सल्लाहकारले भारतको पक्ष लिँदा दलालहरु राज्यका कस्ता ठाउँमा पुगेका छन् भन्ने कुराको पुष्टि भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्ता तत्वलाई समयमै निर्मूल नपारे देशको अस्तित्व समाप्त हुने बताए ।

प्रतिक्रिया