बागलुङको निसीखोलामा बस दुर्घटना, आठ जनाको मृत्यु


ढोरपाटन । बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक नाबालिकासहित चार महिला रहेका छन् । मृतक कसैको पनि सनाखत नभएको विकको भनाइ छ । घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ ।

पूर्वी रुकुमदेखि काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धौलागिरि अस्पताल बागलुङमा पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा नविन्द्र ढकालले जानकारी दिए । घाइतेलाई एम्बुलेन्स तथा गाडी व्यवस्थापन गरी बागलुङ पठाएको उनको भनाइ छ ।

बस सडकदेखि एक सय ५० मिटर तल खसेको छ । प्रहरी निरीक्षक विकका अनुसार सातजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनले जानकारी दिए ।

मृत्यु हुने अधिकांश रुकुमका रहेको हुँदा घटनास्थलमै मृत्यु भएका सातजनाको शव सङ्कलन गरी रुकुम पठाइएको उनको भनाइ छ । बाटोमा मृत्यु भएकामध्ये एकजनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको विकले जानकारी दिए ।