चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गर्योः महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने बताएका छन् । ललितपुरमा आइतबार आयोजित ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले चुनावअघिको गठबन्धनले राजनीतिलाई एकदमै भ्रष्ट र लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको बताए ।

माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाएको घटनाले कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने उनले जिकिर गरे ।

उनले भने, ‘कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन हुँदैन ।’ नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने समयसँगै खुल्दै जाने भन्दै उनले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको बताए ।

उनले भने, ‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको भित्र अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला । एउटा कुरा खुसी लागेको छ । नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो । अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाबकिताब नै हुन सक्दैन ।’