लघुवित्तका ऋणी संसद् भवन प्रवेश गरेको घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन


काठमाडौं । प्रहरीले संसद भवनभित्र लघुवित्त पीडितहरु प्रवेशको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी दिनेश मैनालीको संयोजकत्वमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरेको हो । कडा सुरक्षा घेरा तोडेर सोमबार लघुवित्त पीडित संसद भवनभित्र प्रवेश गरेर नाराबाजीमा उत्रिएका थिए ।

यसैबीच, संसद भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ । सङ्घीय संसद् भवन क्षेत्र वरपर सरकारले तोकेको निषेधित क्षेत्र तोडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । केही समययतादेखि उनीहरु काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका छन् ।

लघुवित्त पीडित सङ्घर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन् । यसै क्रममा आज संसद् भवन वरपरको निषेधित क्षेत्र तोडेकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।