काठमाडौं । नेकपा एमालेले छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।
उनले बालकुमारी घटनाका दोषी भौतिक मन्त्री प्रकाश ज्वाला र बालकुमारी घटनामा दुई जनालाई कत्लेआम गर्न आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।
त्यस्तै, गिरीले अख्तियारको निगरानीमा रहेका स्वास्थ्य मन्त्री मोहन बस्नेत पनि पदमा बहाल गर्न नमिल्ने भन्दै उनलाई बर्खास्त गर्न माग गरे । गिरीले पुरातात्विक क्षेत्र रामग्रामलाई एउटा निजी कम्पनीलाई ९९ वर्ष लिजमा दिने जस्तो बदनियतपूर्ण काम गरेको भन्दै पर्यटन मन्त्री र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालाई तत्काल कारबाही गर्नुपर्ने र बर्खास्त गर्नुपर्ने बताए ।
उनले भने, ‘प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा संसद अवरोध विगतमा भएका छन् । विवादित मन्त्रीहरुबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् । बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गरियोस् ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् छलेर हिँडिरहेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीले संसद्लाई छलेर बाहिर हिँडिराख्नुभएको छ। यो चिन्ताको विषय हो। हामी संसद् अवरोध होस् भन्ने चाहँदैनौं ।’
दुई युवकको मृत्यु भएको ललितपुरको बालकुमारी घटनाका सम्बन्धमा सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाको उपस्थिति समेतलाई कारण मानेको बताइएको छ । स्वास्थ्यमन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिद प्रकरणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा घेरामा छन् ।
बस्नेतले अख्तियार पुगेर बयान पनि दिइसकेका छन् । सरकारले सुनुवाइ नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि प्रतिपक्षले उठाएको विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।
गत फागुन ६ गतेको संसद् बैठकदेखि लगातार संसदमा एमालेले बालकुमारी घटनाका दोषीलाई कारबाही, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई सरकारबाट हटाउन, रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा सहभागी भएको भन्दै पर्यटनमन्त्री सुदन किराँती र अख्तियारमा बयान दिन गएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सरकारबाट हटाउन दबाब दिँदै आएको छ ।

प्रतिक्रिया