काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सुदेश पराजुलीले बालकुमारी घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका छन् । बालकुमारी घटनामा नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको माग भइरहेको बेला पराजुलीले सुरुमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।
मंगलबार सामाजिक संजालमार्फत पराजुलीले होनहार युवालाई गोली ठोक्न आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘नेपाल पुलिस भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्छ ? शान्ति सुरक्षा कायम गर्ने काम कुन मन्त्रालयको हो भौतिक मन्त्रालयको कि गृह मन्त्रालयको हो ? पुलिसलाई गोली ठोक्ने आदेश कसले दियो ? होनाहार युवाको छातीमा गोलि हान्ने आदेश दिने घटनाको सम्पूर्ण दोषी नारायणकाजी श्रेष्ठ हो । आफैं शान्ति सुरक्षाको बागडोर गृहमन्त्रालयको नेतृत्व गर्ने रोजगारीका लागि भौतारिएका दुई होनाहार युवालाई गोली ठोक्ने आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिला नैतिकता आधारमा राजीनामा दिनुपर्छ । पहिला छानबिन गृहमन्त्री नारायणकाजि श्रेष्ठलाई गर्नुपर्छ ।’
पराजुलीले आफूलाई जोगाउन गृहमन्त्रीले छानबिन समिति बनाएको आरोप लगाए । उनले भनेका छन्, ‘गृहमन्त्री स्वयम् आफू हुने आफू नै छानबिनको दायरा भित्र उभिनु पर्ने व्यक्तिले आफूलाई जोगाउने आफू अनुकुल छानबिन समिति बनाएर यतिको नाटक मञ्चन गर्नेलाई जति निन्दा गरे पनि कमि नै हुन्छ । मुख्यदोषी नारायणकाजी श्रेष्ठलाई छानबिनको कठघरामा उभ्याए पछि यदि सत्य तथ्य तथा निष्पक्ष छानबिन भएमा प्रकाशज्वाला पनि त्यसको भागिदार बन्नुपर्छ ।’
बालकुमारी घटनाको छानबिन गर्न गठिन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनले मन्त्री ज्वालालाई दोषी देखाएको छ । प्रतिवेदन कार्यान्वयन गरी दोषी माथि कारबाही गर्न संसदमा विपक्षी दल नेकपा एमाले र रास्वपाले माग गरेका छन् । उनीहरुले मन्त्री ज्वालाको बर्खास्तीको माग गरेका छन् । तर प्रधानमन्त्रीले भने प्रतिवेदन अध्ययन गरेपछि निर्णय लिने बताएका छन् ।

प्रतिक्रिया