रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बढी जान्ने भएर अहंकारले उफ्रिँदा माधवकुमार नेपाल भड्खालामा जाकिन पुगेको बताएका छन् । पार्टीको रौतहट जिल्लाको दसौं जिल्ला अधिवेशनको बिहीबार उद्घाटन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रतिक्रियावादीको पछि लागेर हिँडेको आरोप लगाएका हुन् ।
उनले भने,‘उहाँका बारेमा केही टिप्पणी गर्नुछैन । कहिलेकाहीँ बढ्ता जान्ने भएर, अहंकारले उफ्रिँदा भड्खालामा जाकिन्छ, कसरी जाकिन्छ भने माधवकुमार नेपाललाई हेरे पुग्छ!’ उनले माधव नेपालले चुनाव नजित्ने दाबी गरे ।
अध्यक्ष ओलीले माधव नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमवस माधव नेपालको पार्टीमा गएकालाई एमालेमा फिर्ता आउन आह्वान समेत गरे । माधव नेपालले आफूसँग बोलचाल छैन भन्दै हिँडेको उल्लेख गर्दै ओलीले त्यसले आफूलाई कुनै फरक नपर्ने बरु रौतहटकै जनतासँग बोल्न बन्द गर्न सुझाव दिए ।
त्यस्तै उनले वर्तमान सरकारले देश र जनताका लागि कुनै नयाँ कार्यक्रम गर्न नसकेको र एमालेले सुरु गरेका निर्माणका कार्यहरुलाई समेत अवरुद्ध गरेको जिकिर गरे । उनले जनताको आशा अपेक्षा अनुसार जिम्मेवारीपूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया