काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका छन् । शुक्रबार काठमाडौंमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार गैरकानूनी, वेतिथीसँग चल्ने अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन् ।
उनले सरकारकै कारण राजनीतिक, सांस्कृतिक, आर्थिक र सामाजिक क्षेत्र नै तहसनहस भएको धारणा राखेका छन् । त्यस्तै अध्यक्ष ओलीले गठबन्धनले जित्ने नदेखेर प्रधानमन्त्रीले हस्तक्षेप गरेर स्काउटको सम्मेलन रोक्न निर्देशन दिएको भन्दै आपत्ति जनाए । स्काउटको सम्पति कांग्रेसले बल देखाएर लुटेर खाइरहेको उनले आरोप लगाए ।
उनले अदालतको आदेश विपरित स्काउटको सम्मेलन स्थगित गर्ने बिषयमा प्रधानमन्त्रीसँग पनि जिज्ञासा राखेको र मिलाएर लैजाने जवाफ पाएको बताए ।
रेडक्रस गैरआवासीय नेपाल संघ लगायतका संस्थामा समेत गठबन्धन सरकारले हस्तक्षेप गरेको उनले बताए । अध्यक्ष ओलीले बित्तिय संस्थाहरुले एकलौटीरूपमा ब्याज बढाएर ऋणीहरुलाई समस्यामा पारेको उल्लेख पनि गरेका छन् । उनले सर्वसाधारणले पैसा राख्दा सस्तो व्याज दिनेले ऋण लगानी गर्दा धेरै व्याज लिन नमिल्ने बताए ।

प्रतिक्रिया