‘देश बन्छ तर कहिले बन्छ त भन्दा, ‘हाइज्याकर’हरुको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रियसभा सदस्य निर्वाचनमा ‘हाइज्याकर’लाई हराउन आह्वान गरेका छन् । मतदान भइरहेका बेला बिहीबार सभापति लामिछानेले सामाजिक संजालमार्फत भनेका छन्, ‘व्यवस्थाका केही हाइज्याकरहरूलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ । नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर)हरूले लामो छुट्टी लिए सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो ।’

उनले देश बनाउने सूत्रका रूपमा निर्वाचन हराउनेसहितका विकल्प सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने ‘सर्वदलीय सहमति’ गरेको दिनदेखि देश बन्न सुरु हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिंगो संसद्ले ‘सर्वदलीय प्रतिबद्धता’ गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ । त्यसपछि मिडिया/सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नांगो भइरहनु पर्दैन । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफैँ गरौँ, तलबी सेना अफ बिटमा नचलाऔँ । फेस गरौँ, फेस नलुकाऔँ । स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै,पेलेको पेल्यै,पेलेको पेल्यैपनि नगरौं, देश बन्छ । अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ। चुनाव कहिले ?? ८४ मा।’