काठमाडौं । खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा टिकट खरिद गरी खेल हेर्न आउने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको हो ।
पत्रकार सम्मेलनमा एन्फाले मैत्रीपूर्ण खेलको तयारीसमेत पूरा भएको बताएको छ । एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो ।
यस टिकट प्राप्त गर्न भिभिआईपीतर्फको ५ हजार रुपैयाँको टिकट किन्नुपर्नेछ । खेल दशरथ रंगशालामा साझ पाँच बजे शुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आइतबार नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।
नेपालले यसअघि असोज ११ गते बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ नेपाल ३–१ ले विजयी भएको थियो ।
पाकिस्तानबिरुद्धको खेलमा नेपालको प्रशिक्षण प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ । नेपाल र पाकिस्तानबीचको अन्तराष्ट्रिय खेल आयोजना गर्नको लागि एन्फाले विभिन्न
कमिटिहरु गठन गरेको छ भने टिकट दर पनि तोकेको छ ।
उक्त खेलका लागि साधारण पारापिटतर्फ पाँच सय रुपैयाँ र भीआइपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर निर्धारण गरिएको छ ।
एन्फाले सो खेलको टिकट बिक्रीको अधिकार फुटसल भिलेज प्रा.लि. लाई दिएको छ । मैत्रिपूर्ण खेलका लागि नेपाली टोली अहिले प्रवेश कटुवालको प्रशिक्षमा रहेको छ ।

प्रतिक्रिया