तेहरान । इरानले तेलको मूल्य उच्च राख्ने र अमेरिकी मध्यावधि निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजलाई लक्षित गर्न नयाँ रणनीति अपनाउन थालेको छ । इरानका दुई वरिष्ठ अधिकारीले समाचार संस्था रोयटर्सलाई यस्तो जानकारी दिएका हुन्।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेपछि तेहरानले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गर्दै आएको छ। युद्धअघि विश्वको कुल तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) व्यापारको करिब पाँच भागको एक भाग यही जलमार्गबाट हुने गरेको थियो।
वासिङ्टनमाथि दबाब बढाउने उद्देश्यले इरानले उक्त जलमार्गबाट हुने जहाज आवागमनमा प्रतिबन्ध लगाउँदै आएको छ। इरानको धम्की र आक्रमणका कारण स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाज आवागमनमा उल्लेख्य कमी आएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढाएको भए पनि केही जहाजले भने उक्त मार्गबाट तेल ढुवानी जारी राखेका छन्।
इरानका दुवै अधिकारीले नयाँ रणनीतिबारे विस्तृत जानकारी दिन अस्वीकार गरे। तर, तीमध्ये एक अधिकारीका अनुसार इरानले आफ्नो प्रतिबन्ध उल्लङ्घन गरेको ठानेका जहाजमाथि करिब १० दिनअघिदेखि फरक आक्रामक रणनीति प्रयोग गर्न थालेको छ। त्यसयता त्यस्ता जहाजमाथिका आक्रमण बढेका छन्।
अधिकारीहरूका अनुसार नयाँ रणनीतिमा आक्रमणको प्रकृति र गति दुवै परिवर्तन गरिएको छ। यसको एउटा उद्देश्य अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई प्रभावित पार्नु रहेको उनीहरूले बताएका छन्।
“विश्व बजारमा तेलको मूल्य घटाउने अमेरिका र उसका सहयोगीहरूको प्रयासलाई विफल पार्नु यसको उद्देश्य हो,” ती दुई अधिकारीमध्ये एकले भने।
नयाँ रणनीति अपनाउने निर्णय इरानको उच्च राजनीतिक नेतृत्व तहबाट भएको र देशको शासकीय प्रणालीका विभिन्न निकायबीच पूर्ण समन्वय गरिएको पनि अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया