भ्याटिकन । पोप लियो चौधौँलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ। उनको दायाँ फोक्सोको तल्लो भाग शल्यक्रियामार्फत सफलतापूर्वक हटाइएको भ्याटिकनले जनाएको छ ।
७१ वर्षीय पोपको मंगलबार रोमस्थित जेमेली अस्पतालमा करिब ९० मिनेट लामो शल्यक्रिया गरिएको थियो। त्यसपछि उनलाई फोक्सोको एडेनोकार्सिनोमा भएको पुष्टि भएको भ्याटिकनले स्वास्थ्य बुलेटिनमार्फत जानकारी दिएको हो।
“शल्यक्रिया सफल भयो र कुनै जटिलता देखिएन,” भ्याटिकनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। शल्यक्रियापछि पोप सामान्य अवस्थामा ब्युँझिनुभएको र केही समय निगरानीमा राखेपछि आफ्नो कोठामा फर्किनुभएको पनि विज्ञप्तिमा उल्लेख छ।
भ्याटिकनका अनुसार नियमित स्वास्थ्य परीक्षणका क्रममा उहाँको फोक्सोमा गाँठो देखिएको थियो। चिकित्सकहरूले थप परीक्षणपछि त्यसलाई क्यान्सर भएको पुष्टि गरेका हुन्। पोपलाई करिब एक साता अस्पतालमै राखिने अपेक्षा गरिएको छ।
यसअघि पोप अस्पताल पुग्दा ठूलो सङ्ख्यामा मानिसहरू उनको प्रतीक्षामा बसेका थिए। उहनको गाडी अस्पतालतर्फ अघि बढ्दा उपस्थित मानिसहरूले स्वागत गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। गाडीको पछाडिको झ्यालबाट हात हल्लाउँदै र मुस्कुराउँदै पोपले उनीहरूको अभिवादन स्वीकार गरेका थिए ।
भ्याटिकनले जारी गरेको विज्ञप्तिअनुसार शल्यक्रिया पूर्ण रूपमा गर्न र प्रभावित भाग हटाउन पोपको दायाँ फोक्सोको तल्लो खण्ड नै निकालिएको हो।
समाचार संस्था एएफपीसँग कुरा गर्दै भ्याटिकनका एक स्रोतले क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ वा छैन भन्ने पत्ता लगाउन थप परीक्षण भइरहेको बताएका छन्।
पोप लियो चौधौँले आइतबार सेन्ट पिटर स्क्वायरमा परम्परागत एन्जेलस प्रार्थना तथा आशीर्वाद दिएपछि आफ्नो शल्यक्रियाबारे सार्वजनिक रूपमा जानकारी दिएका थिए ।
उनले फोक्सोमा देखिएको गाँठो सीमित रहेको र निकै प्रारम्भिक चरणमै पत्ता लागेको बताएका थिए ।
जेमेली अस्पतालका छातीसम्बन्धी शल्यचिकित्सकहरूको टोलीले पोपको शल्यक्रिया गरेको हो। स्वास्थ्यलाभका लागि समय दिन उनका आगामी कार्यक्रमहरू अक्टोबर २० सम्मका लागि स्थगित गरिएका छन्।

प्रतिक्रिया