भारतीय हमलाकाविरुद्ध निर्णायक प्रतिक्रिया दिने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी
बीबीसी । भारतले गरेको क्षेप्यास्त्र आक्रमणबारे प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले त्यसलाई ‘कायरतापूर्ण’को सङ्ज्ञा दिएका छन् ।
विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानले बदला लिने पनि बताएका छन् । पाकिस्तान सरकारले भारतीय हमलामा कम्तीमा आठ जनाको ज्यान गएको बताएको छ ।
‘शत्रुले पाकिस्तानभित्रका पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ। यो दूष्टतापूर्ण आक्रामक कारबाहीको (जवाफ दिइने छ),’ प्रधानमन्त्री शरिफले भनेका छन् ।
‘बिनाउक्साहट गरिएको भारतीय हमलाका विरुद्ध निर्णायक प्रतिक्रिया दिने स्पष्ट अधिकार पाकिस्तानसँग छ – दृढ प्रतिक्रिया दिइँदै छ।’ उनले सम्पूर्ण देश उसको सैन्य फौजका पछाडि एकताबद्ध भएको अनि देशको मनोबल र इच्छाशक्ति उच्च रहेको पनि बताएका छन् ।
‘शत्रुलाई उसको दुर्भावनापूर्ण उद्देश्य हासिल गर्न कदापि दिइने छैन।’ भारत सरकारले जारी गरेको विज्ञप्तिमा उसले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही सुरु गरेको उल्लेख छ ।
उसले अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा ‘आतङ्कवादीहरूले पर्यटकमाथि हमला गरेर २६ जनाको ज्यान लिएको घटनाको बदलामा’ यो कारबाही गरिएको भनेको छ।
भारतले नौ विभिन्न स्थानहरूलाई निसाना बनाई हमला गरिएको भनेको छ । तर पाकिस्तानका प्रधानमन्त्री शरिफले चाहिँ पाकिस्तानका पाँच स्थानमा हमला भएको उल्लेख गरेका छन्।