कास्की । कास्कीका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न माग गरेका छन्। उत्पादन लागत निरन्तर बढ्दै गए पनि तीन वर्षदेखि दूधको मूल्य समायोजन नभएको भन्दै किसानले मूल्य बढाउन माग गरेका हुन्।
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी अहिले दूधको गुणस्तरअनुसार किसानले प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म मात्रै पाउँदै आएको जनाएको छ। यो मूल्यले उत्पादन लागत र किसानको श्रमको उचित प्रतिफल दिन नसकेको सहकारीको भनाइ छ।
सहकारीका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्री हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।
दूध उत्पादन किसानको जीविकोपार्जनसँगै ग्रामीण अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बरालको भनाइ छ।
“उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ,” उनले भने, “भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ।”
उपभोक्ताको हित र बजारको अवस्थालाई समेत ध्यानमा राखेर किसानले पाउने दूधको मूल्य कम्तीमा प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरिएको उनले बताए। केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले पनि दूधको मूल्य बढाउन लामो समयदेखि माग गर्दै आए पनि पूरा नभएको किसानको भनाइ छ।
किसानले दूधको मूल्य बढाउनुपर्ने मागसँगै बिक्री गरेको दूधको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेका छन्। त्यस्तै, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन, उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन र कृत्रिम गर्भाधान सेवा निःशुल्क गर्न माग गरेका छन्।
पोखरा लेखनाथका किसान त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन नभएको बताए। उनका अनुसार यसबीचमा दाना र चोकरको मूल्य २५ प्रतिशतभन्दा बढी बढिसकेको छ।
“दाना–चोकरको मूल्य महिनैपिच्छे १० देखि १५ रुपैयाँसम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ,” उनले भने, “यही अवस्था रहिरहने हो भने किसान कसरी बाँच्ने? पशुपालनबाट पलायन हुनुको विकल्प छैन।”
कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले पनि बजारमा हरेक वस्तुको मूल्य बढिरहे पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए।
उपभोक्ताले बजारमा दूध किन्दा महँगो मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनको भनाइ छ।
“किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ,” उनले भने, “किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन?”

प्रतिक्रिया