अमेरिकामा विमानस्थलमै दुई यात्रुवाहक विमान ठोक्किए


वासिङ्टन । अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानको तयारीमा रहेका अमेरिकन एयरलाइन्सका दुई यात्रुवाहक विमान आपसमा ठोक्किएका छन् ।

शुक्रबार साँझ विमानस्थलमा ट्याक्सी गर्ने क्रममा दुई बोइङ ७३७–८०० विमानका पखेटा आपसमा ठोक्किएका हुन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार स्थानीय समयअनुसार साँझ ५ः१० बजे अमेरिकन एयरलाइन्सको उडान नम्बर ६३८ ले उडान नम्बर २१५२ को पखेटामा ठक्कर दिएको थियो ।

घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको जनाइएको छ । दुवै विमानलाई पुनः पार्किङस्थलमा फर्काइएको छ भने प्राविधिक निरीक्षणका लागि सेवाबाट हटाइएको अमेरिकन एयरलाइन्सले जनाएको छ ।

दुवै विमानका पखेटाका टुप्पा आपसमा ठोक्किएको एयरलाइन्सले पुष्टि गरेको छ । घटनापछि विमानमा रहेका यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । प्रभावित यात्रुलाई उनीहरूको गन्तव्यसम्म पु¥याउने व्यवस्था भइरहेको कम्पनीले जनाएको छ ।

शिकागोको ओ’हेर विमानस्थलतर्फ जान लागेको उडान २१५२ का एक यात्रुले ठक्करका बेला विमानको दाहिने भागमा ठूलो झट्का महसुस गरेको बीबीसीलाई बताएका छन् । उनका अनुसार ठक्करपछि विमान निकै जोडले हल्लिएको थियो र यात्रुहरूबीच त्रास फैलिएको थियो । झ्यालबाट हेर्दा अर्को विमानको पखेटा आफ्नो विमानको पखेटामाथि परेको र एउटा टुक्रा भुइँमा खसेको उनले देखेका थिए ।

विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरूले घटनापछि आपत्कालीन उद्धार टोली र दमकलकर्मीलाई परिचालन गर्न निर्देशन दिएका थिए । त्यसपछि दुवै विमानलाई पार्किङस्थलमा फर्काइएको थियो ।

एफएएले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ । यद्यपि, ठक्करबाट विमानमा भएको क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन ।
यसअघि सन् २०२५ जनवरीमा यही विमानस्थलनजिकै अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा यात्रुवाहक विमानका ६४ जना र हेलिकप्टरमा रहेका तीन सैनिकको ज्यान गएको थियो ।

यसअघिको भीषण दुर्घटनाको स्मृति ताजा रहेकै बेला सोही विमानस्थलमा दुई विमानका पखेटा ठोक्किएपछि विमानस्थलको सुरक्षा व्यवस्थाबारे पुनः चासो बढेको छ ।