पुस्तान्तरणको संकल्प पार्टीको वैधानिक थलोमा राख्न कमल थापालाई सुझाव
गणेश प्रसाद दुलाल।
अध्यक्ष कमल थापाले भर्खर चुवाव अघि महाधिवेशन भन्नुभयो । यसलाई राप्रपा अध्यक्षको वैधानिक, आधिकारिक धारणा वा प्रस्ताव मान्ने हो भने अल्छी घोडा, भाइरस र एक्लै हिँड्ने ट्वीट पनि आधिकारिक हुने भयो । नभए सबै ट्वीट अवैधानिक रहने भयो, पार्टी अध्यक्षको सार्वजनिक भनाइ यति हलुका त हुनु भएन, हावामा उड्नु भएन ।
म नै नेतृत्वमा आउनु पर्छ भन्ने जरुरी छैन, अध्यक्ष थापाले भन्नुभएको छ ।अध्यक्षज्यूले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने ढृद प्रस्ताव, संकल्प गर्नुभएको भए स्वागतयोग्य ।
सामाजिक संजालमा व्यक्त दृष्टिकोणप्रति अन्यथा प्रतिक्रिया रहेन । तथापि वैधानिकताका लागि पार्टीको औपचारिक थलोमा, पुस्तान्तरणको पक्षमा अपर्वतनीय रुपमा, सुस्पष्ट व्याख्यासहित अध्यक्षज्यूले धारणा प्रस्तुत गर्नुभए उपयुक्त हुने जस्तो लाग्छ । नभए अरु ट्वीटहरु जस्तै के वैधानिक, के अवैधानिक भन्ने प्रश्न जोडिन्छ ।
पार्टीभित्र छलफल, प्रस्ताव, निर्णय भए वेश हुन्छ नै । तर हेर्दा लाग्छ अध्यक्षज्यू पार्टी प्रक्रियाभन्दा सामाजिक संजालमा बढी उल्झनु भएको छ । पार्टीभित्र त्यस्तो छलफल भए जस्तो नतिजा देखिएन ।
जिम्मेवारीको दबाब, तनाव हुन्छ होला तर विधी कसैले मास्न हुँदैन, मास्न पाइन्न । पार्टी अध्यक्ष त झन् उदाहरण बन्ने हो । तर अध्यक्ष पदकै गरिमा, ओझ धूमिल हुने गरी यस्तो उलटपुलट अभिव्यक्ति, आवेश र तुच्छ भाव सार्वजनिक हुँदा पार्टीपंक्ति, समाज कसैमा सकारात्मक सन्देश प्रवाह भएको छैन । आगे हजुरकै मर्जी ।