कमिटी बैठकमा नआउने र जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताको रेकर्ड राख्न माधव नेपालको निर्देशन


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टीका कमिटीहरूलाई सक्रिय र प्रभावकारी बनाउन बैठकमा अनुपस्थित हुने तथा जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताको अभिलेख राख्न निर्देशन दिएका छन् ।

शनिबार पार्टीको उपत्यका प्रदेश समितिको बृहत् प्रशिक्षण कार्यक्रममा उनले पार्टीका प्रत्येक कमिटीले आफ्ना सदस्यहरूको सक्रियता, उपस्थिति र जिम्मेवारी निर्वाहको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने बताए । कमिटीमा बस्न चाहने तर जिम्मेवारी पाएपछि काम नगर्ने र बैठकमा समेत उपस्थित नहुने प्रवृत्ति पार्टीभित्र देखिएको उनको भनाइ थियो ।

उनले भने, ‘एक–एक व्यक्तिको रेकर्ड राख्नुहोस् । अहिले समस्या के छ भने मलाई फलानो कमिटीमा राखिएन भन्ने तर फलानो कमिटीमा राखेपछि जिम्मेवारी पूरा गर्दैनन्, बैठकमै पनि आउँदैनन् । विशेष कारणले नआउनु बेग्लै कुरा हो । तर बैठकमा आएपछि रचनात्मक र सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्छ ।’

नेपालले कमिटीका बैठकमा गहन छलफल गरी विषयवस्तुको निष्कर्ष निकाल्ने, त्यसअनुसार सदस्यहरूलाई जिम्मेवारी दिने र जिम्मेवारी पूरा भए–नभएको अनुगमन गर्ने पद्धति विकास गर्नुपर्नेमा जोड दिए । जिम्मेवारी पूरा गर्ने कार्यकर्तालाई प्रोत्साहित गर्नुपर्ने र काम नगर्नेहरूको कमजोरीबारे पनि समीक्षा गर्नुपर्ने उनले बताए ।

उनले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ र विशेष निर्देशन–३ अध्ययन गर्नसमेत कार्यकर्तालाई आग्रह गरे । पार्टीका निर्देशनहरू ह्वाट्सएप समूहमा पठाइए पनि कार्यकर्ताले अध्ययन नगर्ने समस्या रहेको भन्दै उनले सम्बन्धित समितिले निर्देशन पढे–नपढेको विषयमा समेत खोजी गर्नुपर्ने बताए ।